Wednesday, 9 August 2017

उस्तै रोग

हिउँद बर्खा उस्तै छ,
जस्तो पोहोर परार हुन्थे ।
यहाँ हावा उस्तै बहन्छ,
हावाको बहावमा रुखका पातहरु उस्तै हल्लिन्छन ।
खै किन हो कुन्नि,
म पोहोर जस्तो भैन ।

रोग उस्तै छ
जस्तो पोहोर परार हुन्थे
भाईरस उस्तै फैलिन्छ
फेलिएको नया भाईरसको नाम के होला ?
जनजनले सवाल उठाउदा
तिमी जुरुक्क उठेर रिसायौ नि,
मलाई सोध्न मन थियो ।
दशौँ पटक तिमीले ख्वाउछु भनेको औषधी किन लुकायौ ?
तिमी किर्नु हौ की नेता हो अरे ?
ए,अँ
सुत्र बिगारेर आफैँलाई सुधार गर्ने
तिमी त समाज सुधारक पो त !
खै किन हो कुन्नी
पोहोर परार जस्तै छ
त्यो डाक्टरको रोग फेरी उस्तै छ ।

हिउँद बर्खा उस्तै छ

#ImWithDrKC

Sunday, 9 April 2017

आमाले तुल्याई दिएको म


फ्लाईट हुने दुई दिन अगाडी म घरबाट बिदा हुने तरखरमा थिएँ ।
म हिड्ने दिन बिहान आमा तेती राम्रोसंग फ्रेस देखिनु भएन ।

गह्रुंगो मनले आमालाई सोधेँ पनि ।आमाले मिहीन आवाजमा "हैन ठिकै छ-राम्रै छ" मात्र भन्नुभो ।छोरो जाँदैछ भन्ने चिन्ताको बक्ररेखा स्पष्ट कोरिएको थियो मुहारमा । सोचेँ, आमालाई यसैले निराश बनायो होला ।

बिहान पाँच बजेदेखीनै आमाले घरधन्दा सकेर खाना तयार गर्दै हुनुन्थ्यो ।म उठ्दा खाना पाकी सकेको रहेछ ।

अघिल्लो साँझ देखिनै मलाई भन्दा आमालाई हतारो भैरहेको छ । हामी खाना खाँदै गर्दा पनि आमा सम्झी-सम्झी माईतबाट फर्किन लागेकी छोरी-चेलीलाई जस्तै मेरो लागी कोशेलीको पोको तयार गर्दै हुनुन्थ्यो ।

"खाना खाउन्जेली त छोड्दिनुस के आमा !"

म भातको गाँस मुखमा हाल्दै निक्लिएको असहज आवाजमा ति दृष्य हेरेर आमालाई सम्झाउन खोज्छु ।

-"भोली भुलियो भने फेरी छुटिजान्छ,ऐले सम्झेको बेला राख्दिन्छु नि " भन्दै फेरी कोठा,चोटा तिर पुगिसक्नु हुन्थ्यो । आमाका यी कृयाकलाप हेरेर म बिल्कुल निशब्दित भैरहन्छु ।आमालाई सम्झाउने मेरो प्रयास पूर्ण असफल घोषीत भैदिन्छ ।

हेर्दा हेर्दै त्यो साँझ, कोदोको पिठो झोलामा तयार थियो ।पाँच-चौथाई र माने शिसीमा भरिएका घिउ रित्तिदैँ एउटा अर्को ठूलो चकलेटको बट्टामा पग्लदैँ झर्दै थिए ।आमा एउटा बट्टा बाट अर्को बट्टामा घिउ खन्याई राख्नु भा'छ । म ति घिउ खनिएको बेला देखिने तरल रेसाहरुमा आमाको मातृत्व र बाको मेहनत भरिई रहेको नतमस्तक हेर्दै छु ।

त्यो साँझ, भुटेको मकै-भट्टमास, गुद्रुक र बदाम पोको पार्दिन आमाले, बालाई अह्राउनुभयो ।बा चुपचाप आमाको अपिल तयार गर्न तिर लागेपछी म बल्ल फिस्स हाँस्छु । गाउँ-घरमा पुरुषले यस्ता खास्राक खुस्रुक कोशेली तयार पार्दिने चलन छैन ।

बाले एकदिन अगाडीनै मकै, चना, केराउ, भट्टमास आदि मिसाई सातु पिँधेर ल्याई सक्नु भएको थियो । घरको चुह्लोबाट निक्लने कालो धुवाँले मैलो बनाएका पोलिथिनको ब्यागमा मज्जाले कसिएर हिस्स परेझैँ तयार थिए मेरा कोशेलीहरु ।

म ति छुट्टा-छुट्टै पोकाहरुमा कोशेली मात्र देखिरहेको थिईन, ति स्नेह र प्रेमका पोकाहरु थिए ।आमाको ममता र बाको भरोसाका पोकाहरु थिए ।

म ति पोकाहरु एकदम गह्रुङ्गो देखिरहेको छु र त झन-झन गह्रुंगो बनेर आफैमा पोको परिरहेको हुन्छु चुल्होको अर्को कुनामा ।

बा-आमाको स्नेह वजनले भरिएका तिनै थैला संगै अर्को दिन म पनि ठूलो जहाजमा कोचिएर उत्रनेछु पराया देशमा, केहि थान बिकसित अभावहरु संगै, केही थान बिकसित सपनाहरु संगै !

एकादशीको दिन रहेछ ।म र साथी अघिल्लो तीन दिनदेखी संगै घरमा थियौँ ।हामीलाई आमाले खाना(भात/तिउन) बनाईदिनु भयो ।बा-आमा एकादशी बर्त बस्नुहुन्छ ।

खाना खाईसकेपछी हिड्ने तरखर सुरु भयो ।

अब फेरी एकाध बर्ष घर छोड्दै छु भन्ने सोच्दै छु म ।फेरी एकाध बर्ष छोरो आउदैन भन्ठान्दै हुनुन्छ बा-आमा ।

मलाई एकदम अफ्ठेरो लागिरह्यो ।

बुढेसकालमा रहेका बा-आमा संग बिदा हुन जति गाह्रो क्यै हुदैन रहेछ । अंह आँखा-आँखा जुध्नै सकेनन् ! सकेसम्म म सहज हुन खोज्दै छु । जब झोला बोक्ने बेला भयो ।झोला भन्दा मन गह्रुगों भो । बिना झोला पनि बा -आमा झन गह्रुंगो भैरहेको म आखाँबाट खस्न तयार भएका तरल ढिक्काहरु हेरेर आंकलन गर्छु ।

दैलो नेर, आमाले चुपचाप टिका लगाईदिनु भयो ।सगुन भनेर दही ख्वाईदिनु भयो ।बाले पनि ।

कोही संग पनि शब्द भएन ।मौनता छिचोलेर साथीले "लु अब हामी जान्छौँ" भनेपछी बल्ल झसंग भए म ।

"बाले राम्रो संग जानु, पुगेपछी फोन गर्नु" भनेपछी मैले "हुन्छ" मात्र भन्ने सकेँ ।

अनि लगभग चुपचाप बिदा भएँ ।

आरनढुंगो पुगेपछि माथी फर्केर हेर्दा घरको पछाडी डीलबाट बा-आमाको एक-एक जोर नजर मलाई पछ्याई रहेको थियो ।

लिपिङ्ग,मितेरी पूल तातोपानी हुदैँ साथी र म काठमांडू फर्कियौँ त्यो साँझ ।

दिउसोभरिको यात्रामा रम्दा घरमा फोन सम्पर्क गरिन ।

साँझ साथीको कोठामा पुगेर हेर्दा
बाको नंबरबाट मिसकल रहेछ । मैले फोन गरेँ ।

बा भन्दै हुनुन्थ्यो कि, अघिल्लो रातदेखिनै आमालाई ज्वरोले च्यापेर कमजोर बनाईसकेको रहेछ ।म बिदा भएर घरबाट निक्लन लागेकोले मात्र आमाले क्यै नबोली ज्वरो पचाएर जबरजस्ती आफ्नो ब्यथा लुकाउनु भएको बल्ल चाल पाएँ मैले । मेरो मष्तिष्कमा बिहान देखेको आमाको अनुहार बेतालले नाचिरह्यो ।

ट्याङ्लाफाँटको डाँडामाथी एउटा घरको कोठा छेउ बार्दलीमा एकतमास चलिरहेको हावाले भन्दा मलाई आमाले लुकाएको बेदनाले एकदम चिसो बनाउछ ।
अनि भोलिपल्ट नै औषधी लिएर घर जाने मनस्थिती बनाएँ ।आमालाई भोली आउछु भने ।

"भोली सम्म त हलुका होला पर्दैन" भन्नुभयो । म त्यो रातभर निदाउन सकिन ।

एकमन त सोचेँ भो जान्न अब बिदेश ।जे पर्ला फर्कन्चु बा-आमासंगै बस्छु अब ।जसो तसो जिन्दगी गुजार्नु त हो !

फेरी अर्को मनले हाम्रो अवस्था सोचेँ ।रातभर छटपटाईरहेँ ।यस्तो छटपटाहटको एउटा अविरल यात्री हुँ म ।

निद्राले साथ नदिएपछी मेरो दिमागमा बिगत फनफनी घुम्न थाल्छ । अक्सर,बिगतले नराम्ररी दुखाउछ मलाई ।ति दुखाईहरुमा म एउटा अनौठो तागत देख्चु ।बिगतले बर्तमान बलियो बनाउन मद्दत गरिरहेको भन्ठान्छु ।परिपक्व बनाउन ढाडस दिन्छ मलाई आफ्नो बिगत ।

⊙⊙⊙

मेरो एसयल्सी आएको थियो ।सेन्टर सदरमुकाम -चौतारा । घरमा उसबखत मेरो परिक्षा अवधिभरि चौतारामा लाग्ने खर्च जुटाउन हम्मे पर्यो ।बाले कसैगरि पैसा जुटाउन सक्नु भएन ।मैले गणित र अंग्रेजीको ट्युसन पढ्ने रहर गरेको थिएँ ।तर घरसंग खर्च थिएन ।खर्चसंगै ट्युसन पनि नहुने छाँट आएपछी आमा केही नभनी घरबाट निक्लेर हिड्नुभो ।आमासंगै दिक्क परेका निधारका धर्साहरु पनि संगै गए ।

साँझ आमा फर्केर आउनुभो ।

मामा घरमा जानुभएछ ।मामा र ठूली-आमासंग गरि १ हजार ल्याएर साँझ मलाई दिनुभो ।म बेतोडले खुसि भएँ ।त्यै दिन परिक्षा पास भएझैँ भयो मलाई ।

उसबखत माईली ठूलीआमाका छोरा माईला दाईको परिवार चौतारा बस्थे ।म भोलीपल्ट त्यहिँ शरण लिन पुगेँ ।एसयल्सी त्यहिँ बसेर दिएँ ।

ती दिनहरु सम्झेर एक्लै छटपटाउछु ।एक्लै मुस्कुराउछु ।

छोरोले पढोस र प्रगति गरोस भन्ने चाहना कस्को बा-आमाको हुदैन र ! परिस्थिति बाधक नबनिदिने हो भने कति सहजै पड्ने वातावरण मिल्थ्यो होला हामी जस्ता भुँईमान्छेहरुको ! खैर, परिस्थितिलाई आरोपेर उम्कन मन लाग्दैन अचेल ।

थाहा छ आमालाई ब्याख्या गरेर कहिल्यै सकिदैन ।आमाका लागी प्रशंसित शब्दहरु कहिल्यै पुग्दैनन् ।आमा पुरै जीन्दगी हुन ।आमा ब्रह्माण्ड हुन ।यसो भन्दा बालाई छुटाउन सक्दिन ।बा मेरो लागी पाठशाला हुन् अनि शिक्षक पनि ।मैले बाकै पाठशालाबाट आड-भरोसा सिक्न पाएँ । मेहनत सिक्न पाएँ। खै किन हो, बा, अनि दिदी पनि 'आमा' नै लाग्छन् मलाई । लिंगीय र उमेरगत सम्बोधनको सामाजिक ब्यवधान हुन्नथ्यो भने म वहाँहरुलाई 'आमा' नै भन्थेँ ।

म काठमांडू छदाँ प्राय मामाको माईली छोरी, दिदीकोमा गै राख्छु ।मलाई वहाँ र दिदीको सबै परिवार एकदम मन पर्छ ।यसर्थ की आमालाई औधी माया गर्नुहुन्छ ।आमालाई मन पराउने सब्बै मान्छेहरु मलाई मन पर्छन् ।म प्राय काठमांडू जादाँ वहाँकोमा जान छुटाउन्न ।

यो पटक पनि गएँ ।

साँझ खाना खाए पछि दिदीभाईको गन्थनमा बिगत कोट्टियो ।

मामाघरबाट सुत्केरी लिन दिदी जानुभएछ ।उनी उसबेला भर्खर १३ बर्ष जतिको हुनु हुदो रहेछ।

घरमा सुत्केरीलाई ख्वाउने केही थिएन रे ।

म जन्मेर भर्खर-भर्खर न्वारान सकिएको थियो  । दिदी र दाई सानै थिए । सुत्केरी लिन गएकी दिदी सहित बा-आमा, दिदी र दाई सबैले ज्वानोको झोल संग मकैको ढिँडो खाएर सुतेको रे । भोलीपल्ट बिहान पनि त्यै बासी ढिडो खाएर मलाई कोक्रोमा बोकी आमा लिएर दिदी मामाघर आउनुभएको रहेछ ।आमा संगै दिदी र दाई पनि पछी लागेछन ।

दिदीले हाम्रो बिगतबारे भन्दै गर्दा मलाई भित्र कता-कता पोल्न थाल्छ ।कोट्टिएको बिगतले कतै घाउ दुखे झेँ हुन्छ ।कतै चिलाए झैँ हुन्छ ।अनि ति दिनहरुबारे सुनिरहन मन लागिरहन्छ ।

केहि घाउहरु जस्तै, कन्याउदा सित्तल हुन्छन मलाई ति बिगत !

घरमा उब्जेको अन्नले पुरै परिवारको पेट भर्न सक्दैनथ्यो ।

दिदीले र दाईले पेटभरी कहिल्यै खान पाउनु भएन ।भात खान त दशैँ र सराद कुर्न पर्थ्यो ।बा-आमाले म जन्मेको दुई बर्ष जति पछि दिदीलाई काठमांडू असनमा साहुको घरमा काम गर्न नोकर राखिदिएछन । दिदीले हामी संगै घर बस्न त परै जाओस, पढ्न पनि पाउनु भएन । दिदीको त्याग देखेर म अहिले पनि नतमस्तक हुन्छु ।

केही बर्ष पछी बाले काठमान्डौमा भारी खेपेरै गाउँमा खेत किन्नु भयो ।दिदीको तलब पनि खेतमा मिसियो ।बल्ल हामीले भात खान सक्ने बन्यौँ ।यसरी मैले खाएको प्रत्येक भातका सीताहरुमा बा मिसिनुहुन्थ्यो ।दिदी मिसिन्थिन ।

बा र म सानोमा काठमांडू दिदीलाई भेट्न जान्थ्यौँ ।दिदीले नयाँ कपडा र खेलौनाहरु दिन्थिन् ।बा, दिदीको मासिक हिसाब र मलाई लिएर घर फर्कनु हुन्थ्यो ।

हामी घर फर्कदाँ असनको अग्लो घरको झ्यालबाट दिदी रुदैँ हामीलाई पर सम्म हेरि रहनुहुन्थ्यो ।म फर्केर देखिने बेला सम्म हेर्थेँ ।मलाई त थाहै थिएन दिदी कसैको घरकी नोकर्नी बनेकी पो रैछ्न त्यो बेला ।म त फगत दिदीले दिने पैसा,नयाँ कपडा र मिठाईमा मस्त हुन्थेँ ।

यो पटक असन छिर्दा, दिदीले काम गरेको घर हेर्न मन लागेर भित्री चोकमा गएँ । त्यो पुरानो घरका ति आँखीझ्यालहरु परेवाले बिस्ट्याएर फोहोर देखिए पनि मलाई सुन्दर लागिरहे । केहि छिन यसै अलमलि रहेँ ।दिदीले - घरको सम्झना र मालिकको दमनमा पोखाएका कयौँथोपा आँशुहरु त्यै आँखीझ्यालबाट म भएको वरिपरी बज्रिन्थे होला भन्ठानेर निकै बेर टोलाएँ ।

जब ति बिगतहरु मेरो मानष्पटलमा झक्झकाउन आउछ, अनि धेरै भावुक हुन्छु ।मैले भात खान पाएको मात्र नभएर, सानामा गाउँभरिमै पहिलो पटक ट्वाक ट्वाक आवाज बजाउने जुत्ता र दुईटा तिग्रा घर्सिँदा स्वाई स्वाई आवाज दिने जिन्सको पएँठ लगाउन पाएको पनि त दिदीकै कारणले पो रहेछ ।

रातभरीको छटपटाहटले थाकेछु केरे, बिहान पख भुसुक्कै निदाएछु ।

ट्याङ्लाफाँटको डाँढोमा शिवजीको मन्दिरबाट बजेको शिव भजन साथीको रुमसम्म छिरिसकेको थियो शिवरात्रीको बिहान ।

उठेर आमासंग फोनमा बोलेँ ।हिजोको भन्दा अलिक प्रष्ट बोल्नुभो ।अहिले त धेरै ठीक भैसकेको कुरा आमाबाट सुनेपछी अलिक हल्का भो ।

शिवरात्रीको भोलीपल्टै नीलो आकाशमाथी बादलसंगै, त्यो बचपनमा आफैँले पालेर हुर्काएको मिठो एकथान रहर सम्झेर फेरी ठूलो चील-गाडीमा उडेँ म ।

⊙⊙⊙

जिजीविषाको यात्रामा म फेरी यु.ए.ई.-आभुदाबी आईपुगेको छु ।
आईपुगेकै दिन पास्पोर्ट लिन्छ कम्पनि, त्यो हामीसंग हुँदा उ आफूलाई असुरक्षित ठान्छ क्यार ! हामीलाई राख्नै दिन्न ।मालिकहरु पासपोर्टलाई आफ्नो आधुनिक सन्दुकमा कोचे पछी बल्ल लामो स्वास फेर्छन ।त्यसपछी बल्ल हाम्रो स्वासको गती छोट्टिन थाल्छ ।

मलाई यि चिजहरुसंग अब प्रवाह छैन ।उनीहरुका मौखिक कानुनको चुपचाप पालक हुने लत बसिसकेको छ ।जता थिच्च उतै चल्ने रोबोट बन्न सकिएन भने उसले हामीलाई फेरी त्यै पासपोर्ट फिर्ता गर्छ ।तर जसरि लिँदा मुस्कुराउछ तेसरी दिँदा मुस्कुराउदैन उ । मलाई अक्सर केहि मुस्कानहरुमा पनि स्वार्थ छ जस्तो लाग्ने यसै कारण पनि हो ।

याहाँ बाट घरमा फोन गर्दा जसरी मैले हिड्ने बिहान आमालाई सोधेथेँ उसैगरि आमा सोध्नु हुन्छ हर पटक " सन्चै छ नि बाबू?"

मैले पनि जसरी आमाले "ठिकै छ, राम्रै छ" भन्नु हुथ्यो तेसै गरि भन्छु ।
संधै शरीर शब्दमा झैँ  'ठिकै छ राम्रै छ हुदैन ।'
यो लुकाईको प्रकृया आमाले सुरु गर्नु भो मैले पनि साथ दिन जानेँ अब ।आफुमा जे बिते पनि अरुलाई आफ्नो कमजोरी देखाउनु हुन्न भन्ने ज्ञान मैले आमाकै बिश्वविधालयबाट सिकेको हुँ ।
अक्सर बिमारी भएको बेला फोन गर्न मन हुदैन ।बोलीमा स्फुर्ती नभेटेपछी बिसन्चोको स्वभाविक सवाल झन बढि पेश हुन्छ भनेर फोन गर्दिन ।यो बेला आमा आफैँ मिसकल गर्नुहुन्छ ।ठ्याक्कै यै बखत, पुरुषत्व भुलेर आँशुले मसंग बिद्रोह गर्छ ।यो बिद्रोहमा केहि बेर घाईते बन्छु ।रोईदिन्छु ।रोए पछि जितिन्छ भन्ने ज्ञान बच्चामै प्राप्त गरेको हुँ । अझै मेरोमा वालसुलभ स्वभावहरु अस्तित्वमा छन ।

केहिदिन एता आमा भित्र-बाहिर गर्नै नसक्ने गरि बिरामी पर्नु भएच ।मसंग फोनमा कुरा हुँदा फेरी त्यै रेडिमेड जवाफ थियो आमासंग -'ठिक छ राम्रो छ ।'
यो लेखिरहँदा आमालाई (आमाकै शब्दमा ठिक छ राम्रो छ) हस्पिटलमा भर्ना गरिएको छ ।
फोनमा हस्पिटलबाटै आमा हास्दिनुहुन्छ । आमाहरु आफ्नो पीडा लुकाएर सन्तानलाई खुसि देख्न किन चाहन्छन होला ? मसंग जवाफ छैन ।तर गहिरो चिन्ता छ ।

अब म संग आमाले प्रेमले पठाईदिएको गुन्द्रुक छ ।मकै-भट्टमास छ ।सातु छ ।
घिउ छ ।तर यो सबै खाए पछि सकिन्छ ।एकफेरी सोचेँ पनि, यो त घरको प्रेम हो जोगाउछु ।

झल्यास्स एक जना अपरिचित साथीले भनेको याद हुन्छ "आमाको स्नेहलाई जोगाउने नाममा ति कोशेलीहरु खेर जान नदिनु ।"

मैले तेसै गरेँ ।

अब लगभग सबै खाईसकेँ पनि ।

यसरी कोशेली तुल्याईदिने र माया गरिरहने बा-आमा मैले नेपालमै छोडेर आएको छु ।

बस, प्रसस्त समय उपलब्ध छ मलाई अब, घर सम्झन ! बा-आमा सम्झन ।दिदी सम्झन ।साथी संगी, ईष्ट मित्र, आफन्त सम्झन ।सबैभन्दा बढि त अस्पतालमा उपचाररत आमा सम्झिरहेको छु ।
अब यत्ति चाहन्छु की, मलाई 'म' बनाउने तपाईरुलाई कदापी भुल्न नसकुँ ।सम्झिरहन सकुँ ।

अक्सर, देश पनि सम्झन्छु ।एता आए पछि अनौठो माया लाग्छ देशको ।उसो त नेपालबाट लगाएर आएको जुत्ताको, तल्लो सोलले टेकेको नेपाली माटो पनि टक्टकाएको छैन मैले आजसम्म ।अचम्मको प्रेमी छु ।नफर्कुन्जेल लगाउदिन त्यो जुत्ता ।धुन्न पनि !

ट्विटरमा @emptynpn

Friday, 7 April 2017

गजल

टिलपिल टिलपिल ति नयन
भराएको याद आयो ।
सपनीमै ए हजुर भनि,
कराएको याद आयो ।

बिरानो यो पर्देशमा
उनैलाई नै सम्झी आज,
संगै जिउँ ल, भनि बाचा
गराएको याद आयो !

चिनो लाउदै भित्ताको त्यो
झुण्डिएको क्यालेन्डरमा,
आउने दिन गन्दै गन्दै
बराबराएको याद आयो ।

साथ माग्न तिम्रो घरको
मझेरीमा भेला हुँदा,
स्निग्ध ति नजरले
मन पराएको याद आयो ।

गजल