Monday 13 August 2018

रित्तिदै गरेको गाउँबाट





-राम न्यौपाने


पात्लेखोला वन बाक्लिएको छ अचेल । र्छछरे, डाँडीकटेरी तिर मस्त हरियाली सजाएर रमाएको छ पाखो । चिलाउने डाँडोबाट उसैगरि झुल्किन्छ घाम । लप्सेखोलाको सुसाई पनि जोडले सुनिन्छ अचेल । सेल्तापको पाखो हुदै भोटफुल्पिङ्गको टुप्पोतिर फैलिएका छन् घामका किरणहरु, चौतारा देखि इर्खु सम्म ।
घामको असमान फैलाईप्रति मेरो बिद्रोही चेत जुरमुराउछ अनायसै । गैह्रा र खाल्डो परेका भू-भागहरुमा फैलन किन कठीन मान्छ घाम ! किन पहाडका टाकुराहरुमा सुरुमै र्स्पर्श गर्छ कीरण ? किन बेशी र्झन ढिलो गर्छ घाम ? सायद यस्ता सवालहरु पुष माघको ठिहीमा आकर्षक हुन्थे होलान् । तर वर्षायामको यो गर्मीमा यी वैमनष्यहरुले कुण्ठा बनेर मलाई घोचिरहन्छन् । चिमोटी रहन्छन् । पछारी रहन्छन् । थचारी रहन्छन् ।

घामको असमान फैलावट भन्दा प्रकृतिको असमान वनावट र वितरण प्रतिको बिरोध हो मेरो । असमान भूगोल प्रतिको बिरोध हो । किन सबैतिर समान छैन भूगोल ? किन समथर मात्र छैन भूगोल ?  किन उब्जाउशील मात्र छैन जमीन ? मलाई सिधा प्रश्न गर्न मन छ भूगोल निर्मातासंग । यदि भूगोल समान हुन्थ्यो भने सबैतिर समान तवरले मान्छेको बसाई हुने थियो । गाउँ रित्तिन्‍नथ्यो । मान्छे रित्तिन्‍नथे ।मनमनै ठोकुवा गर्छु, भूगोलको असमानता पनि बर्ग निर्माणको कारण हो ।
आह्हा कति राम्रा रहरलाग्दा प्रश्नहरु छन् मसंग ! बेकारका बिरोधहरु छन् । खैर यी प्रश्न र बिरोधहरु उत्पादन हुनुको कारणबारे लेख्न खोज्दै थिएँ आफुलाई बहकाएछु ।
म भन्न खोज्दै थिएँ की, म गाउँमा छु । वर्षाको याम छ । रोपाईका लागी केहि दिनको पाहुना बनेर गाउँ प्रवेश गरेको छु । रोपाईको चटारो सबैको घरदेखि बारी र खेत सम्म हतारो गर्दै छ । मानौ हतारो बिनाको जिन्दगी छैन अचेल । मानौ हतारो बिनाको जीवन छैन अचेल । मानौ हतारो बिनाको किसान छैनन् अचेल ।  मानौ हतारो बिनाको गाउँ छैन अचेल । सबैको थाप्लोमा नाम्लो अड्डएिको जीवन छ । आखिर किसान जुरमुराउने बेला हो वर्षा । अनि मानो रोपेर मुरी फलाउन कर्म गर्ने  याम हो वर्षा । के बृद्ध, के स-साना केटाकेटी ! सबैका थाप्लोमा गच्छे अनुसारको भारी छन् । सबैका थाप्लोमा मकै, ढोड्, घाँस अनि सोत्तरका भारीहरु अल्झिएका छन् । म ति सबै थाप्लोहरुमा जिन्दगीको भारी पनि अल्झिएको देख्छु । आखिर किसानको जिन्दगी नै भारीहरुले त बेरिएको हुन्छ ! दुःखका भारी । पीडाका भारी । परिश्रमको भारी । जीवनका भारीहरु.....

गैह्री मुनितिर तल्लाबारी (पहिला बारी थियो पछि खेत बनाइएको) खेत छ । खेत रोप्नु अगाडि आली काट्ने, कुनु खोस्रने र झार सफा गर्ने चलन छ । आली बाले काटिसक्नु भएछ । ढोड् पन्छाउने र कुनु खोस्रने जिम्मा मैले लिएको छु । म कुनु खोस्रदै थिएँ । दुइ तीन कान्ला मुनि ७६ बर्षीय आलचौरे हजुरबा लक्ष्मिकान्त न्यौपाने आली काट्दै थिए । अलिक माथ्याड ७० बर्षीय पल्लावारी हजुरबा छवीलाल न्यौपाने ढोड छिमल्दै थिए । पाल्यावनको बाटो हुँदै ६९ बर्षीय गैराघर ठूल्दिदी वेदमाया पौडेल  ढोड मकै खेप्दै थिइन । अलिक माथी १४ बर्षीय भाइ शुभाष खेतमा आली लगाउने लाठे बनेको थियो । बाटागह्राबाट ९ बर्षीय नानी प्रशिका न्यौपाने डोको भरी मकै बोक्दै थिइन् । गाउँको यथार्थ हो यो । गाउँमा जीवन अड्याउने मान्छेहरुको उमेर, कि त सत्तरी वरपरका बृद्ध छन् कि त स्कुले भुराभुरी । यिनैले त अड्याइदिएका छन् गाउँ । जति छन एकदमै कम छन् । गाउँमा लाठे घटे । रोपा'र घटे । अब त यसरी घट्नेहरुको प्रतिस्पर्धा चल्दै छ । गाउँ सुनसान बन्दै छ । बारी र खेतहरु सुनसान बन्दै छन् । सायद आघौँ र पराघौँ गाउँबाट मान्छे घट्नेक्रमको फेहरिस्त झन बढ्ने होला !

एक ठाउँबाट अर्को ठाउँको स्थानान्तरण परम्परा देखिको रीत हो । अचेल पो गाउँबाट शहर छिरेसि मान्छे अल्छिमा बदलियो ! हाम्रा पुर्खाहरु पनि गाउँमा कतै न कतैबाट स्थानान्तरण हुदै आइपुगेका हुन् । तर याहाँ आउनुको ध्यय भने कर्मसंग थियो । पुर्खाहरु कर्ममा विश्वास गर्थे र जता पुगे पनि कर्म गर्न छोड्दैनथे । मुल कर्म खेती-किसानी थियो । युवा अवस्थामा कामको लागी जता पुगे पनि बर्खा मासमा गाउँ फिर्थे । अन्न रोप्थे । जमिनमा पसिना बगाउथे । तर अचेल समय बदलिएको छ । समय संगै कर्मको ब्याख्या पनि बदलिएको छ । गीतामा कृष्ण भन्नुहुन्थ्यो -"कर्म गर, तर फलको आसा नगर ।" पुर्खाहरु धार्मिक  कथाहरुमा विस्वास गर्थे र त कर्म पश्चात फल प्राप्त नभए पनि हाम्रो पुस्ताले जस्तो एतिबिध्न दुःखी बन्दैनथे । हामी अचेल खेति पश्चात प्राप्त हुने उब्जनीको हिसाव गर्छौँ, नाफा-घाटा तुरुन्तै छुट्याउन सक्ने भएका छौँ । अनि यसरी आउने  हिसावको प्रतिफल ऋणात्मक देख्ने बित्तिकै छपटाउछौँ । हुन पनि पहाड्का ढुङ्गा लाग्ने खोरियाहरुमा उब्जनी कम नै हुन्छ । पुर्खा त्यसो गर्दैनथे निष्फल कर्ममा लीन हुन्थे । परिश्रम अधिकतम्, उत्पादन न्युनतमले गर्दा किसान बन्ने बाध्यतालाइ पनि पन्छाउछ मान्छे अचेल । पुर्खा त्यसो गर्दैनथे निष्फल कर्ममा लीन हुन्थे । कर्म नै धर्म थियो । हामी यहि विन्दुबाट दुःखी हुन सुरु गर्र्छौँ । दुःख त आफ्नै सोच हो । दुःख आफैँ हो । दुःखको कारण र कर्ता हामी आफैँ हौँ । हामी फगत् यो यथार्थलाइ भुलिदिन्छौँ र रमाईदिन्छौँ क्षणिक भ्रमहरुमा ।
उन्ताका गाउँमा पर्म परेलीको चलन थियो । पर्मसंग पर्म नै विनिमय हुन्थ्यो । सबैको जमीनमा बिऊ रोपिन्थ्यो । गाउँभरीका सबै मिलेर खेति गर्थे । जग्गा खाली देखिन्न्थ्यो । खेत-बारीमा लह लह अन्न झुल्थे । खेत बारि सुन्दर देखिन्थ्यो । खेतालाको बदला खेताला तिरिन्थ्यो ।अचेल खेताला लगाउने मान्छे नभएर गाउँ उराठ बनेको छ खेत बारी पनि उराठ बनेका छन् । केहि समय अघि सम्म त खेताला पैसामा काम गर्थे तर अचेल समय बदलिसकेको छ । गाउँमा पैसासंग पर्म साटिन छोडिसक्यो ।
"पैसाले खेत-बारी रोप्नि भए मान्छे किन चाईन्थ्यो बाबू" आम किसानका मुखमा झुण्डिएको सामुहिक वाक्य हो यो । यथार्थ पनि यै हे कि-पैसाले खेति हुन्न, मानिसको परिश्रमले हुन्छ । अब गाउँको समस्या यै भयो । मान्छे निख्रिन थाले पछि खेति बाँझै राख्ने होडबाझि चल्न थाले । खेताला बन्न छाडे अचेल गाउँका आधुनिक मान्छेहरु । युवाहरुमा खेतीप्रति लगाव र मोह शुन्यमा झरिसक्यो । जव उत्पादनका निमित्त किसानका सन्तान आफ्नो जमिनमा खेताला नबन्ने संस्कृतीको बिकास हुनथाल्यो, तवदेखि जमिन एक्लिन थाल्यो । जमिन र अन्नको सह-सम्बन्ध छुटिन थाल्यो । पात्रोमा नयाँ साल फेरिने बित्तिकै झन जमिन बाँझिने क्रमको निरन्तरता बढ्न थाल्यो । गाउँमा मान्छे बस्न छाडे ।सुखको खोजिमा शहरले तान्यो गाउँलाई । हुन त गाउँलाई भुकम्पले तानेदेखि नै आत्तिन थालेको हो गाउँ ।
गाउँको भूगोल बिग्रिएको छ अचेल । नक्शा बदलिएको छ । पुर्खाले खनिखोस्री तयार पारेको भूमीमा अन्नको सट्टा घाँस मात्रै फल्छन् अचेल । रोपनि-रोपनि जग्गाहरुले बर्खामा आलु झार र हिउँदमा भुसभुसे उत्पादन गर्छन् । गाउँको रोपनि जग्गाको मोह भन्दा शहरको एक कोठा र र्इत्रु टुक्रा जमिन प्रिय भएको छ । गाउँको स्थाई बासिन्दा घट्न थाले पछि खेति लगाउने पनि घट्न थाले । अचेल त स्थाई गाउँबासी भनेका त ब्रहृमलीन हुन आँटेका शरीरहरु मात्र हुन् भन्न हिचकिचाउन नपर्ने भैसक्यो । पढ्दै गरेकाहरु "एसइइ" सम्म हो गाउँ बस्ने । त्यसपछि उनीहरुको शहर जाने रहरको सामु गाउँ झुक्छ, हार्छ र पाहुना बनाउने यात्रा तय गर्दिन्छ गाउँ । आखिर म पनि त यसैगरि गाउँबाट ओझेल परेको हुँ । अनायसै नोस्टाल्जिक भैदिन्छु म । "एसइइ" सकिदा पखेटा पलाउन सुरु भएकाहरु मध्य केहि थोरै धौ-धौले मात्र १२ पढ्दा सम्म अड्याउछन् आफुलाई गाउँमा । १२ पछि त पखेटा  बलिया हुन्छन्, अनि भुर्र उड्न थाल्छन शहर तिर । शहर हुने बिदेश तिर । जव जवान युवा शहर पस्छ अनि उ गाउँ र्फकन मान्दैन । उ बिस्तारै गाउँको पाहुना बन्न थाल्छ, घरको पनि । चाडवाड्मा  यस्सो गाउँमा झुल्किन्छ, त्यो पनि गाउँमा जानु उसको बाध्यता जस्तो भाव अनुहार भरि दौडाउछ । निधारका छालाहरु खुम्चयाएर गह्रा गह्रा बनाउछ । छोरीहरु पनि गाउँ बस्न रुचाउदैनन् अचेल । अवशरको खोजिमा शहर नै पस्छन् । छोरासंगै शहर पुगेका बुहारीहरु गाउँ फिर्नै खोज्दैनन् । गाउँ बस्न मन नलागेका बहानाहरुको बिस्कुन असरल्ल हुन्छन् । नव-बुहारीहरु त गाउँ बस्नै नपरे हुन्थ्यो भनेर भाकल नै गर्न थालिसके । गाउँमा हुर्केर शहर पसेकाहरु गाउँको उकालो ओरालोहरुलाई सराप्न थालेका छन्, धिक्‍कार्न थालेका छन् अचेल । गाउँमा बस्न र काम गर्न पर्दाको बखत आफुलाई भाग्यले ठगेको घोषणा गरिदिन्छन् ।

एवं रीतले गाउँ एक्लिदै छ अब । गाउँबाट मान्छे क्रमैसंग रित्तिदैछन् । एकदिन गाउँ रित्तिने छ । आखिर मान्छे आफ्नै शरीर छोड्छ अनि आफैसंग रित्तिन्छ अर्कोदिन । रित्तिनु त जीवनको नियती हो । रित्तिनु शून्यता तर्फो यात्रा हो । रित्तिए पछि पो शून्यतामा पुग्न सकिन्छ अनि शून्यताबाटै पूर्णतामा पुग्न सकिन्छ भन्ने तत्ववोध हो । रित्तिनु, भरिनु, अनि फेरि रित्तिनु, अनि फेरि भरिनु त जीवनको चक्र हो, परिवर्तनको नीयम हो । जीवनको लीला हो । ब्रहृमाण्डको लीला हो । सायद अब यो लीलामा रित्तिनुको पालो कुरेको होला गाउँले ! कृष्णले गीतामा भनेझैँ -"जे भयो राम्रै भयो ।  जे भैराछ राम्रै भैराछ । जे हुँदैछ राम्रैका लागी हुनेछ ।"
जदौ ।

Thursday 8 March 2018

रित्ताे भेट


जाडो मौसम ।चिसोका हरेक कणहरु आँखाबाट छिरेर पुरै शरीरमा सिरिङ्ग बनाउन उद्धत बनि रहेको थियो ।घाम दुब्लाएर न्यानोको तागत हराए पछिको  निरीह शहरमा  म कफीले ज्यान सेक्न क्याफे छिर्छु । दिउसै देखी उसको डिउटी सकिने प्रतिक्षामा मैले चार कप डबल एक्सप्रेसो कफी फरक-फरक क्याफेमा रित्याई सकेको छु । कफी होस या अरु कुनै चिज, रित्याउनुमा मजा छ । रित्तिनुमा मजा छ ।
 प्रतिक्षाको एतिविध्न मिठो लतले मलाई लठ्याउला भनेर यो भन्दा पहिले अनुभूति गरेको थिईन सायद ! तर लठ्यायो । बरु मलाइ था'भो केही लठ्याईहरुमा मिठास हुने रहेछ । तर म लठ्ठिएर पनि रित्तिन चाहन्छु । लमलाई रित्तिनुमा लगाव छ ।

मलाई यसरी लठ्याउन सामर्थ्य राख्ने 'उ' - एउटी पात्र हो । प्राय: मेरो मनभित्र उब्जिरहने अनौठो कुतुहलता पनि !

डिसेम्बरको पहिलो हप्ता, म भर्खर काठमाडौँ पुगेको हुन्छु ।जाडो महिना, छोटा दिनहरुको रजाई ।
न्युरोड-सुन्धारा-महाबौद्धमा मेरा पदचापका डोबहरु छरपष्ट भए त्यो दिन ।
प्रतिक्षाको ईजलासमा मलाई खडा गर्ने हो भने ति पनि बलिया प्रमाणहरु हुने थिए । तर यो जीन्दगीको अदालत थिएन । थियो बस, कसैपृतिको मृगतृष्णा ।

थाहा थियो, मेरा लागी भनेर घाम चाँडै अस्ताईदिदैनन् ।
घडीको सुई छिट्छिटो घुमिदिदैन् ।सुई घुमाउन सकिएला, तर सुईसँगै समय घुमाउन सकिन्न । र पनि मन न हो हतारिन्छ ।यो हतारोलाई भुल्दै काठमाडौँ मलबाट टुँडिखेल नियाल्छु ।
अन्तत: धूमील दृष्यविच धूलो र धुवाँलाई छिचोलेर बत्तिका मधुरा प्रकाशहरु शहरमा टिलपिलाउन थाल्छन ।अनि म गमक्क गम्किन्छु ।यसरी गम्किनुमा मलाई बिछट्टै मज्जा छ । किनकी अब उसलाई भेट्ने समय निजिकिदै छ ।

यी प्रकरणहरुका बिचमा हामीले फोनमा आफ्नो आवाज केहि पटक ठोक्काई सकेका हुन्छौँ ।भेट्ने स्थान पक्का भएपछी म उ भएको गन्तव्य पहिल्याउन ट्याम्पुसँगै बवरमहल तर्फ अगाडी बड्छु ।
धूलाम्य काठमाडौँ।मलाई सबैभन्दा धेरै डर नै यि धूलो/धुवाँ देखी लाग्दै छ ।जे जस्तो भए पनि यो हाम्रो शहर हो ।मैले कसैलाई भेट्न प्रतिक्षा गरेको शहरलाई म कसरी नराम्रो भन्न सक्छु र अब !

वरिपरी मान्छेहरुको भिड छ । शहरको विशेषता नै भिड रहेछ ।कोलहाल रहेछ । म पनि भिडको एन नव-सदस्य बनेको छु ।
हाम्रो पहिलो भेटभन्दा अगाडी अन्तिम पटक फोन सम्पर्क हुन्छ ।उसले बिजुली बजार पूल नजिकैको लोकेसन दिएकी थिई ।म त्यहिँ पुग्छु ।म गाडीबाट उत्रेपछि नजिकै गाडी कुर्नेहरुको कोलहालयुक्त वातारण छरिएको देख्छु।
एकहुल भिड आफ्नो गन्तव्यको प्रतिक्षामा गाडीतिर नजर लगाइरहेका हुन्छन् । त्यहि भिडबाट केहि कदम परबाट हातले ईशारा गर्दै माक्स लगाएकी मेरो प्रतिक्षा, मेरो कुतुहलता म नजिकै आईपुग्छे ।
म ति भिडहरुमा चुपचाप खडा छु ।मानौ ति भिडहरु हल्ला होईन, लाग्दैछ एउटा मौन मिलनको रोमान्चित दृष्य हेर्दै छन् ।
अँ, उसलाई यो भन्दा पहिले फोटोमा देखेको थिएँ ।
"मलाई देखेपछि हजुरको बिचार नबदलियोस" उसले म्यासेजमा भनेको याद हुन्छ ।
म चित्रको(फोटो) तराजुमा मान्छे तौलन जान्दिन ।
चित्रले चरित्र बताउदैन ।स्वभाव बताउदैन ।व्यहोरा बताउदैन ।बस, मान्छे देखिन्छ चित्रमा, अरु देखिन्न !
"संगतले हो मान्छे प्रतिको विचार निर्माण हुने" -मैले उसलाई भनेको थेँ, सायद उसले पनि सम्झेकि छे। मलाई था छ, उ सम्झनमा माहिर छे ।

उ फोटोमा देखिएकी भन्दा राम्री थी, ठीक मेरो सामुन्ने ।थोरै हल्लिन्छे उ । मुखबाट माक्स खोल्दिन । मैले खोल भनेको भए के गर्थि कुन्नि, तर उसले खोलिन !
पहिलो मिलनको पहिलो प्रहर थियो ।
संकोच र उत्साह एकैपटक भैदियो त्यो साँझ ।अनौठो क्षण ! शव्दले लेख्दैन सायद । भावले देख्छ । अनुभूत गर्छ ।
म अढेस लागेको ल्याम्प पोस्टबाट बत्ति हाम्रै लागी खसिरहेको थियो जस्तो लागिरहेको थियो ।म त्यै ल्याम्प पोस्टमा खडा भएर चोरी-चोरी उसलाई हेर्छु । एक-अर्को प्रतिको कुतूहल जाग्दा हाम्रो आँखा जुध्छ ।केहि थान  लाज उत्पादन गर्छ मेरो मनले ।सायद उसले पनि । म लजाएको बेला उसलाई  हेर्न सक्दिन, आकाश नियाल्छु । लाजमा आकाश तिर फर्कनु पनि सार्वभौम तरिका हो भन्ठान्ने म मात्र होइन भन्ठान्थे पनि । यो भावको आकस्मिक स्वीकारकर्ता हुँ म ।
खै किन हो, उ मुसुक्क मुस्कुराउथी । मुस्कुराउदा माक्सले छेकेर धागोबाट बचेको गालाको केही भाग च्यातिइको देख्थेँ म ।
यो महा-आनन्दानुभूतिको बयान शव्दले व्यक्त गर्न सक्दैन सायद !

उसले सँगै खाजा खाने आग्रह गरेपछी हामी नजिकैको ए-वान क्याफेमा छिर्छौँ । कफी र मःमः अडर हुन्छ ।उ टेबल मुनी हेरिरहन्छे ।उसले नियालेर होला त्यो भुँई मलाई हेरुँ-हेरुँ लाग्छ ।मान्छे जस्तै उसले हेरेको भुईँ पनि प्रीए लाग्छ ।म पनि उसले नियाले तिरै आँखा डुलाई रहन्छु ।
गफ कम र हेराहेर ज्यादासंगै प्लेटको मम रित्तन्छ ।कपको कफी रित्तिन्छ ।ग्लाँसको तातोपानी पनि रित्तिन्छ ।योसँगै हामी बसेको टेबल रित्तिन तयार हुन्छ । साँझ छिप्पिएसंगै अर्को हतारो हामीबिच तेर्सो पर्छ ।उसलाई गाडी चडेर घर पुग्नु छ ।मलाई पनि ।

-"हिडेर जाम ल कोटेश्वर सम्म ?"
मैले चाहेको तर आग्रह गर्न नसकेको भावमा उ आफै मलाई प्रस्ताव गर्छे ।
-"हुन्छ ।"
म संयमित हुन्छु ।धेरै प्रफुल्लित देखिएर हौसिनु मलाई ठिक लाग्दैन ।तर मन धेरै रमाएको थियो उसको आग्रहले ।
र हामी संगै हिड्यौ । केही कदम । कदम- कदम ।

धूलोले लपक्कै ढाकेको शहर, हामीलाई बानेश्वर देखी कोटेश्वर छिचोल्नु थियो । काठमाडौँ पुरै (डस्टमान्डु)धुलोमान्डुमा परिवर्तन भैसकेको रहेछ । बाटैभरि सवारी साधनको कर्कश आवाज र उडिरहेएको धूलो छिचोल्दै हामी लम्किरहन्छौँ ।
तिनकुने पुग्दा आकाशमा ताराहरु नाचिरहेका थिए ।उसले मलाई तीनआँख्ले तारा चिनाई ।मैले पहिलो पटक तीनआँख्ले तारा चिने ।उसले चिनाएको तीनआँख्ले तारासँगै अरु ताराहरु झन मोहक चमकमा मस्त थियो । आकास सुन्एदर थियो । मेरो मन पनि सुन्दरतामा अलमलिदै थियो । एउटा प्रेमयात्रामा मस्त भएझैँ मदहोश थिएँ म ।

उसलाई छोडेर फर्कन पर्ने भयले कोटेश्वर किन किन मलाई मन परिरहेको थिएन । म चाहन्थे बाटो अझै लम्बियोस साथ अझै लम्बियोस ।सँगै अझ अरु केहि कदम साथ हुन पाईयोस ।सायद उ पनि चाहन्थी होली ! मनले त फगत चाहना त उत्पादन गर्दिन्छ । मनले पुरा गर्न पर्ने भए त किन उत्पादन हुन्थे होला र चाहना पनि, सजिलो छ मनलाई ।भएभरको चाहना बनाइदियो अनि मस्तिष्कलाई तनाव दियो !
साँझ झपक्क छिप्पिसकेकोले होला, हाम्रो चाहना अधुरै रह्यो ।जे चाहना मन पर्दैन त्यो स्वीकार्न पर्ने बाध्यता आईपर्छ ।भयो तेस्तै ।गाडी आयो । उ चढी ।मेरो मन उसंगै गाडीको भिडमा च्यापिएर यात्रा गर्यो, पेप्सीकोला-काँढाघारी सम्म ।

उसलाई गाडीमा चढाएर रित्तो ज्यान लिएर फर्कनै मन थिएन मलाई ।जसै फर्कनु त छँदैछ । एउटा गन्तव्यमा रहि रहनु भनेको अर्को गन्तव्य तय नगर्नु पनि त हो । म मोडिएँ ।
उसकै स्मृतिमा रमाउदै उसँगै हिडेको बाटो ।कोटेश्वरबाट फेरी हिडेरै बानेश्वर फर्किएँ  ।

बाटोमा "पेप्शीकोला-काँडाघारी जाने हो" आवाज दिएर  ढ्याप ढ्याप हुँदै गुडिरहेको अर्को बस पनि प्रिय लाग्न थाल्यो त्यसपछि ।

बाटैभरी उसैले देखाएका तीनआँख्ले तारा नियालिरहेँ ।ती ताराहरु पहिला देखिनै चम्किला थिए वा आज उसले देखाए पछि चम्किए, म नितान्त रनभुल्लतामा अलमलिदै रुम पुग्छु ।
बिस्तारै झ्याल खोल्छु, आकाश हृदयप्रफुल्लित मुद्रामा धपक्क मुस्कुराएको छ ।ताराहरु ईलेक्ट्रिसियनले मिलाईदिएको झिलमिले बत्तिझैँ पालैसित मोहक दृष्यमा चम्किरहेका छन् ।

स्मृतिमा म उसलाई पटक-पटक घुमाउछु ।म पटक-पटक घुम्छु ।पटक-पटक उसका भावनाहरु सम्झन्छु ।उसका अस्थिर यादहरुले मलाई तन्द्रामा पनि घच्घचाइ रह्यो ।