Thursday 8 March 2018

रित्ताे भेट


जाडो मौसम ।चिसोका हरेक कणहरु आँखाबाट छिरेर पुरै शरीरमा सिरिङ्ग बनाउन उद्धत बनि रहेको थियो ।घाम दुब्लाएर न्यानोको तागत हराए पछिको  निरीह शहरमा  म कफीले ज्यान सेक्न क्याफे छिर्छु । दिउसै देखी उसको डिउटी सकिने प्रतिक्षामा मैले चार कप डबल एक्सप्रेसो कफी फरक-फरक क्याफेमा रित्याई सकेको छु । कफी होस या अरु कुनै चिज, रित्याउनुमा मजा छ । रित्तिनुमा मजा छ ।
 प्रतिक्षाको एतिविध्न मिठो लतले मलाई लठ्याउला भनेर यो भन्दा पहिले अनुभूति गरेको थिईन सायद ! तर लठ्यायो । बरु मलाइ था'भो केही लठ्याईहरुमा मिठास हुने रहेछ । तर म लठ्ठिएर पनि रित्तिन चाहन्छु । लमलाई रित्तिनुमा लगाव छ ।

मलाई यसरी लठ्याउन सामर्थ्य राख्ने 'उ' - एउटी पात्र हो । प्राय: मेरो मनभित्र उब्जिरहने अनौठो कुतुहलता पनि !

डिसेम्बरको पहिलो हप्ता, म भर्खर काठमाडौँ पुगेको हुन्छु ।जाडो महिना, छोटा दिनहरुको रजाई ।
न्युरोड-सुन्धारा-महाबौद्धमा मेरा पदचापका डोबहरु छरपष्ट भए त्यो दिन ।
प्रतिक्षाको ईजलासमा मलाई खडा गर्ने हो भने ति पनि बलिया प्रमाणहरु हुने थिए । तर यो जीन्दगीको अदालत थिएन । थियो बस, कसैपृतिको मृगतृष्णा ।

थाहा थियो, मेरा लागी भनेर घाम चाँडै अस्ताईदिदैनन् ।
घडीको सुई छिट्छिटो घुमिदिदैन् ।सुई घुमाउन सकिएला, तर सुईसँगै समय घुमाउन सकिन्न । र पनि मन न हो हतारिन्छ ।यो हतारोलाई भुल्दै काठमाडौँ मलबाट टुँडिखेल नियाल्छु ।
अन्तत: धूमील दृष्यविच धूलो र धुवाँलाई छिचोलेर बत्तिका मधुरा प्रकाशहरु शहरमा टिलपिलाउन थाल्छन ।अनि म गमक्क गम्किन्छु ।यसरी गम्किनुमा मलाई बिछट्टै मज्जा छ । किनकी अब उसलाई भेट्ने समय निजिकिदै छ ।

यी प्रकरणहरुका बिचमा हामीले फोनमा आफ्नो आवाज केहि पटक ठोक्काई सकेका हुन्छौँ ।भेट्ने स्थान पक्का भएपछी म उ भएको गन्तव्य पहिल्याउन ट्याम्पुसँगै बवरमहल तर्फ अगाडी बड्छु ।
धूलाम्य काठमाडौँ।मलाई सबैभन्दा धेरै डर नै यि धूलो/धुवाँ देखी लाग्दै छ ।जे जस्तो भए पनि यो हाम्रो शहर हो ।मैले कसैलाई भेट्न प्रतिक्षा गरेको शहरलाई म कसरी नराम्रो भन्न सक्छु र अब !

वरिपरी मान्छेहरुको भिड छ । शहरको विशेषता नै भिड रहेछ ।कोलहाल रहेछ । म पनि भिडको एन नव-सदस्य बनेको छु ।
हाम्रो पहिलो भेटभन्दा अगाडी अन्तिम पटक फोन सम्पर्क हुन्छ ।उसले बिजुली बजार पूल नजिकैको लोकेसन दिएकी थिई ।म त्यहिँ पुग्छु ।म गाडीबाट उत्रेपछि नजिकै गाडी कुर्नेहरुको कोलहालयुक्त वातारण छरिएको देख्छु।
एकहुल भिड आफ्नो गन्तव्यको प्रतिक्षामा गाडीतिर नजर लगाइरहेका हुन्छन् । त्यहि भिडबाट केहि कदम परबाट हातले ईशारा गर्दै माक्स लगाएकी मेरो प्रतिक्षा, मेरो कुतुहलता म नजिकै आईपुग्छे ।
म ति भिडहरुमा चुपचाप खडा छु ।मानौ ति भिडहरु हल्ला होईन, लाग्दैछ एउटा मौन मिलनको रोमान्चित दृष्य हेर्दै छन् ।
अँ, उसलाई यो भन्दा पहिले फोटोमा देखेको थिएँ ।
"मलाई देखेपछि हजुरको बिचार नबदलियोस" उसले म्यासेजमा भनेको याद हुन्छ ।
म चित्रको(फोटो) तराजुमा मान्छे तौलन जान्दिन ।
चित्रले चरित्र बताउदैन ।स्वभाव बताउदैन ।व्यहोरा बताउदैन ।बस, मान्छे देखिन्छ चित्रमा, अरु देखिन्न !
"संगतले हो मान्छे प्रतिको विचार निर्माण हुने" -मैले उसलाई भनेको थेँ, सायद उसले पनि सम्झेकि छे। मलाई था छ, उ सम्झनमा माहिर छे ।

उ फोटोमा देखिएकी भन्दा राम्री थी, ठीक मेरो सामुन्ने ।थोरै हल्लिन्छे उ । मुखबाट माक्स खोल्दिन । मैले खोल भनेको भए के गर्थि कुन्नि, तर उसले खोलिन !
पहिलो मिलनको पहिलो प्रहर थियो ।
संकोच र उत्साह एकैपटक भैदियो त्यो साँझ ।अनौठो क्षण ! शव्दले लेख्दैन सायद । भावले देख्छ । अनुभूत गर्छ ।
म अढेस लागेको ल्याम्प पोस्टबाट बत्ति हाम्रै लागी खसिरहेको थियो जस्तो लागिरहेको थियो ।म त्यै ल्याम्प पोस्टमा खडा भएर चोरी-चोरी उसलाई हेर्छु । एक-अर्को प्रतिको कुतूहल जाग्दा हाम्रो आँखा जुध्छ ।केहि थान  लाज उत्पादन गर्छ मेरो मनले ।सायद उसले पनि । म लजाएको बेला उसलाई  हेर्न सक्दिन, आकाश नियाल्छु । लाजमा आकाश तिर फर्कनु पनि सार्वभौम तरिका हो भन्ठान्ने म मात्र होइन भन्ठान्थे पनि । यो भावको आकस्मिक स्वीकारकर्ता हुँ म ।
खै किन हो, उ मुसुक्क मुस्कुराउथी । मुस्कुराउदा माक्सले छेकेर धागोबाट बचेको गालाको केही भाग च्यातिइको देख्थेँ म ।
यो महा-आनन्दानुभूतिको बयान शव्दले व्यक्त गर्न सक्दैन सायद !

उसले सँगै खाजा खाने आग्रह गरेपछी हामी नजिकैको ए-वान क्याफेमा छिर्छौँ । कफी र मःमः अडर हुन्छ ।उ टेबल मुनी हेरिरहन्छे ।उसले नियालेर होला त्यो भुँई मलाई हेरुँ-हेरुँ लाग्छ ।मान्छे जस्तै उसले हेरेको भुईँ पनि प्रीए लाग्छ ।म पनि उसले नियाले तिरै आँखा डुलाई रहन्छु ।
गफ कम र हेराहेर ज्यादासंगै प्लेटको मम रित्तन्छ ।कपको कफी रित्तिन्छ ।ग्लाँसको तातोपानी पनि रित्तिन्छ ।योसँगै हामी बसेको टेबल रित्तिन तयार हुन्छ । साँझ छिप्पिएसंगै अर्को हतारो हामीबिच तेर्सो पर्छ ।उसलाई गाडी चडेर घर पुग्नु छ ।मलाई पनि ।

-"हिडेर जाम ल कोटेश्वर सम्म ?"
मैले चाहेको तर आग्रह गर्न नसकेको भावमा उ आफै मलाई प्रस्ताव गर्छे ।
-"हुन्छ ।"
म संयमित हुन्छु ।धेरै प्रफुल्लित देखिएर हौसिनु मलाई ठिक लाग्दैन ।तर मन धेरै रमाएको थियो उसको आग्रहले ।
र हामी संगै हिड्यौ । केही कदम । कदम- कदम ।

धूलोले लपक्कै ढाकेको शहर, हामीलाई बानेश्वर देखी कोटेश्वर छिचोल्नु थियो । काठमाडौँ पुरै (डस्टमान्डु)धुलोमान्डुमा परिवर्तन भैसकेको रहेछ । बाटैभरि सवारी साधनको कर्कश आवाज र उडिरहेएको धूलो छिचोल्दै हामी लम्किरहन्छौँ ।
तिनकुने पुग्दा आकाशमा ताराहरु नाचिरहेका थिए ।उसले मलाई तीनआँख्ले तारा चिनाई ।मैले पहिलो पटक तीनआँख्ले तारा चिने ।उसले चिनाएको तीनआँख्ले तारासँगै अरु ताराहरु झन मोहक चमकमा मस्त थियो । आकास सुन्एदर थियो । मेरो मन पनि सुन्दरतामा अलमलिदै थियो । एउटा प्रेमयात्रामा मस्त भएझैँ मदहोश थिएँ म ।

उसलाई छोडेर फर्कन पर्ने भयले कोटेश्वर किन किन मलाई मन परिरहेको थिएन । म चाहन्थे बाटो अझै लम्बियोस साथ अझै लम्बियोस ।सँगै अझ अरु केहि कदम साथ हुन पाईयोस ।सायद उ पनि चाहन्थी होली ! मनले त फगत चाहना त उत्पादन गर्दिन्छ । मनले पुरा गर्न पर्ने भए त किन उत्पादन हुन्थे होला र चाहना पनि, सजिलो छ मनलाई ।भएभरको चाहना बनाइदियो अनि मस्तिष्कलाई तनाव दियो !
साँझ झपक्क छिप्पिसकेकोले होला, हाम्रो चाहना अधुरै रह्यो ।जे चाहना मन पर्दैन त्यो स्वीकार्न पर्ने बाध्यता आईपर्छ ।भयो तेस्तै ।गाडी आयो । उ चढी ।मेरो मन उसंगै गाडीको भिडमा च्यापिएर यात्रा गर्यो, पेप्सीकोला-काँढाघारी सम्म ।

उसलाई गाडीमा चढाएर रित्तो ज्यान लिएर फर्कनै मन थिएन मलाई ।जसै फर्कनु त छँदैछ । एउटा गन्तव्यमा रहि रहनु भनेको अर्को गन्तव्य तय नगर्नु पनि त हो । म मोडिएँ ।
उसकै स्मृतिमा रमाउदै उसँगै हिडेको बाटो ।कोटेश्वरबाट फेरी हिडेरै बानेश्वर फर्किएँ  ।

बाटोमा "पेप्शीकोला-काँडाघारी जाने हो" आवाज दिएर  ढ्याप ढ्याप हुँदै गुडिरहेको अर्को बस पनि प्रिय लाग्न थाल्यो त्यसपछि ।

बाटैभरी उसैले देखाएका तीनआँख्ले तारा नियालिरहेँ ।ती ताराहरु पहिला देखिनै चम्किला थिए वा आज उसले देखाए पछि चम्किए, म नितान्त रनभुल्लतामा अलमलिदै रुम पुग्छु ।
बिस्तारै झ्याल खोल्छु, आकाश हृदयप्रफुल्लित मुद्रामा धपक्क मुस्कुराएको छ ।ताराहरु ईलेक्ट्रिसियनले मिलाईदिएको झिलमिले बत्तिझैँ पालैसित मोहक दृष्यमा चम्किरहेका छन् ।

स्मृतिमा म उसलाई पटक-पटक घुमाउछु ।म पटक-पटक घुम्छु ।पटक-पटक उसका भावनाहरु सम्झन्छु ।उसका अस्थिर यादहरुले मलाई तन्द्रामा पनि घच्घचाइ रह्यो ।